काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नका लागि मुख मिठ्याउन आवश्यक नभएको बताएका छन्। बुधबार जनकपुरमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै सहयोग गरेर जाने बताए।
‘अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ। उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ। तर त्यो पर्याप्त होइन। त्यसका निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ। उहाँलाई दबाब पनि दिनुपर्छ। उत्प्रेरित पनि गर्नुपर्छ। यसका निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भूमिका खेल्न या आवश्यक प्रभावकारी भूमिका खेल्न तयार छ’, उनले भने।
अध्यक्ष नेपालले अहिलेकै सरकारलाई अगाडि बढाउने बताए। साथै त्यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि आफ्नो कुराकानी भएको बताए। ‘देउवा पनि यो सरकारलाई अगाडि बढाउने पक्षमा हुनुहुन्छ’, उनले भने, ‘हामी पनि यो सरकारलाई अगाडि बढाउने पक्षमा छौं। हामी कसैले पनि यो सरकारलाई कमजोर बनाउन चाहँदैनौं। सरकारको खुट्टा तान्न चाहँदैनौं। सरकारलाई असहयोग गर्न चाहँदैनौं।’
वर्तमान सत्ता गठबन्धनमा भएको भनिएको सहमतिमा प्रचण्डपछि नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने पालो छ। नेताहरूले सहमतिको चर्चा गर्ने गरेको भएता पनि त्यसबारे कुनै विस्तृत विवरण सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।