काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी सशस्त्र द्वन्द्वको सुरुवात भएको दिनलाई सरकारका तर्फबाटै उत्सव मनाइएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यो हिंसा सुरु गरेको दिन कुनै राष्ट्रको उल्लास र हर्षको दिन हुन सक्दैन। हामीले युद्ध विराम र शान्ति प्रक्रिया किन गर्नुपर्यो? बृहत शान्ति सम्झौता किन गर्नुपर्यो?,’ उनले भने, ‘त्यही ठीक छ भने त त्यही बाटो लाग्दा हुन्थ्यो नि!’
अध्यक्ष ओलीले त्यो ठीक नभएर शान्तिको बाटो रोजेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न दोहोर्याउँदै उनले थपे,‘तपाईं हिंसा सुरु गरेको दिनलाई उत्सव मनाउने? बिदा दिने? हिंसा सुरु गरेको दिनमा भोज खाएर, नाचेर सहिदका परिवारहरुलाई पढाउने जिम्मा तपाईं नलिने? उनीहरुका अगाडि तपाईं उत्सव मनाउने?’
उनले घाइतेहरुको उपचार नगरेको तर सरकारी कर्मचारी र विद्यार्थीलाई दिइएको बिदा के का लागि हो भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन्।
हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाउन आवश्यक नभएको उनले टिप्पणी गरे। उनले आउने क्याविनेट बैठकबाट त्यसलाई फिर्ता लिन आग्रहसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।