काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साढे दुई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने प्रस्ताव अघि सारेका छन्। कांग्रेसका मन्त्री फिर्ता बोलाएर अहिले मोर्चामा आबद्ध पार्टीलाई सरकार चलाउन दिएर बाहिरबाट समर्थन गर्ने प्रस्ताव राखेका हुन्।
नेपाली कांग्रेस नुवाकोटको कार्यक्रममा बोल्दै उनले सबै पार्टीको सरकार हुँदा जस-अपजसको भागीदार कोही नहुने अवस्था आएको बताए। उनले भने, ‘कांग्रेसका मन्त्री फिर्ता बोलाऊँ। दुई-साढे दुई वर्ष उहाँहरु एक्लैलाई चलाउन दिऊँ। प्रधानमन्त्री प्रचण्डजी हुने कि माधवजी हुने हुनुहुन्छ।’
त्यसपछिका साढे दुई वर्ष कांग्रेस एक्लैले सरकार चलाउन पाउनुपर्ने उनको भनाइ छ। त्यसो गर्दा मात्रै राम्रो गर्दा जस र नराम्रो गर्दा अपजस मिल्ने उनले उल्लेख गरे। उनले भने, ‘नयाँ संस्कार बसाऔं। बाहिरबाट असहमति जनाउने ठाउँमा अहसमति र सहमतिको ठाउँमा सहमति जनाउँ तर सरकार एक्ला-एक्लै चलाउँ।’
यही तरिकाले अहिलेका दुई वर्ष कांग्रेस नेताहरुले राम्रो भएन भन्ने, आगामी दुई वर्ष अन्य दलका नेताहरुले राम्रो भएन भन्ने चलिरहने उनले बताए। उनले खेर गएका चार वर्षको जिम्मेवारी कसैले नलिने अवस्था बन्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।