काठमाडौं– विश्वलाई सर्वाधिक चासो भएको विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ३–१ ले इक्वेडरलाई पराजित गरेको छ।
गत वर्षको फाइनलिस्ट अर्जेन्टिना आगामी वर्ष रुसमा आयोजना हुने विश्व कपमा छनोट हुन्छ कि हुँदैन र विश्व चर्चित खेलाडी लिओनल मेसी विश्वकपमा देखा पर्छन् कि पर्दैनन् भन्ने ठूलो चासोका बीच अर्जेन्टिना विश्वकपमा छनोट भएको छ।
दक्षिण अमेरिकी छनोट समूहमा छैटौं स्थानमा रहेको अर्जेन्टिना यसअघि प्लेअफका लागि पनि छनोट नहुने आशंका बढेको थियो। इक्वेइडरको घरेलु मैदानमा खेल भएका कारण पनि अर्जेन्टिनाको सम्भावनालाई लिएर धेरैले आशंका गरेका थिए। समुद्री सतहभन्दा २८ सय मिटरको उचाइस्थित क्युटो सहरमा खेल भएको थियो।
तर, मेसीले आफ्नो योग्यता फेरि प्रमाणित गर्ने क्रममा ह्याट्रिक गोल गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनोट गराए। इक्वेइडरले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको नतिजालाई उल्ट्याउँदै उनले १२, २० र ६२ मिनेटमा गोल गरे।
इक्वेडरका इबाराले गोल गरेका थिए। यो नतिजापछि अर्जेन्टिना २८ अंक बटुल्दै समूहमा तेस्रो भएर विश्व कपका लागि छनोट भएको हो। अर्जेन्टिनाभन्दा माथि ब्राजिलले ४१ र उरुग्वेले ३१ अंक बटुल्यो।
यो पनि: एउटा गरिब फुच्चे कसरी विश्व चर्चित स्ट्राइकर बने?
यसअघिका छनोट खेलहरुमा बोलिभियालाई २–० गोलले पराजित गरेपछि अर्जेन्टिना लगातार तीन खेलमा बराबरीमा रोकियो। जसमा अर्जेन्टिनाले उरुग्वे र पेरुसँग गोलरहित बराबरी खेलेकाे थियाे। भेनेजुएलासँग पनि अर्जेन्टिना १–१ गोलको बराबारीमा रोकिएको थियो। चौथो तथा निर्णायक खेलमा मेसी नायक बनेपछि अर्जेन्टिनाले जित निकालेर विश्वकपमा स्थान बनायो।
अर्जेन्टिनाले सन् १९७४ देखि लगातार विश्वकपमा स्थान बनाउँदै आएको छ। लगातार ११ पटक विश्वकप खेलेको अर्जेन्टिना यसबीचमा दुईपटक च्याम्पियन (सन् १९७८ र १९८६) बन्यो। सन् १९८५ मा पेरुसँग निर्णायक खेलमा २–२ को बराबरी खेलेपछि अर्जेन्टिनाले सन् १९८६ को विश्वकपमा स्थान बनाएको थियो। पेरुप्लेअफमा धकेलिएको थियो। कठिन छनोट पार गरेको अर्जेन्टिनाले पछि विश्वकपको ट्रफी नै उचाल्यो।
सन् २००९ को छनोटमा पनि अर्जेन्टिनी टिम संकटमा परेको थियो। छनोटमा अर्जेन्टिनाले निर्णायक खेलमा पेरुलाई पराजित गरेर सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा स्थान बनाएको थियो। ११ अक्टोबर २००९ मा भएको छनोट खेलमा अर्जेन्टिनाले पेरुलाई २–१ ले हराएर विश्वकपको टिकट पक्का गरेको थियो। अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिनाले अंक तालिकामा चौथो स्थान हात पारेर विश्वकपमा स्थान बनाएको थियो।
सन् १९६९ को छनोटको निर्णायक खेलमा पेरु र अर्जेन्टिनाले २–२ को बराबरी खेलेका थिए। बराबरीपछि अर्जेन्टिनाले सन् १९७० मा मेक्सिको विश्वकपमा स्थान बनाउन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।