काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तिब्बतको ल्हासाबाट छेन्दुतर्फ जाँदैछन्। उनी ल्हासाबाट बिहान ९:४५ को उडानबाट छेन्दु जान लागेका हुन्।
मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार अपराह्न साढे २ बजे छेन्दु पुग्ने बताइएको छ। छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नेछन्। आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम पनि तय भएको छ।
बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री प्रचण्डले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड चीनको औपचारिक भ्रमणमा रहेका छन्। उनको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।