काठमाडौं– नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत कोशी प्रदेशमा नेतृत्व चयनका लागि चुनावी भीडन्त हुने देखिएको छ।
शुक्रबारदेखि कोशीमा प्रदेश अधिवेशन हुँदैछ। अधिवेशन सुरु हुनुअघि नै पार्टीले नेतृत्व सर्वसम्मतिमा चयन गराउन प्रयास गरेको थियो। तर उक्त सहमति नभएको र नेतृत्व चयनका लाग चुनावी भीडन्त नै हुने सम्भावना बढेको एमालेका एक नेताले जानकारी दिए।
प्रदेश अध्यक्षका लागि पार्टी नेतृत्वले घनश्याम खतिवडाको नाममा सहमति जुटाउने प्रयास गरेको थियो। खतिवडालाई अध्यक्षमा सर्वसम्मत गर्नका लागि केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलेसमेत प्रयास गरेका हुन्। उनको निर्देशनका बावजुद पनि त्यहाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रियामै जाने सम्भावना बढेको छ।
अध्यक्षका लागि अर्का आकांक्षी हुन् विनोद ढकाल। उनी एमाले नेता भीम आचार्य नजिकका हुन्। सोही कारण पनि अब कोशीमा अध्यक्ष केपी शर्मा ओली भर्सेस भीम आचार्यका उम्मेदवार चुनावी मैदानमा उत्रिने सम्भावना बढेको छ।
यद्यपि खतिवडालाई हालका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई र नेता गुरु बरालको साथ छ। ढकाललाई भने आचार्यको मात्र समर्थन रहेको छ।
शुक्रबार सकभर सर्वसम्मतिका लागि फेरि पनि दुई आकांक्षीबीच मनाउने तर सहमति भएन भने चुनावबाटै नेतृत्व चयन गर्ने एमालेको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।