काठमाडौं- नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन आजदेखि सुरु भएको छ। निर्वाचन कार्यक्रम पार्टी प्रदेश कार्यालय च्यासलबाट हुँदैछन्।
तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, साँझ ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन हुने भएको छ।
आजै ६ बजे उम्मेदवारको नाम विद्युतीय मेशिनमा राखिनेछ। मतदान भने असोज ११ गते बिहीबार बिहान ११ बजेबाट सुरु हुनेछ।
बागमती प्रदेशको नेतृत्वका लागि कृष्णभक्त पोखरेल, कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सान श्रेष्ठ र केशव पाण्डेले दाबी गरिरहेका छन्।
प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा गठित ११ सदस्यीय अध्यक्षमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बास्कोटा, कमल चौलागाई,रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ, अरुण नेपाल र रत्ना गुरुङ सदस्य रहेका छन्।
कर्णालीमा उद्घाटन
यसैगरी कर्णाली प्रदेशमा बुधबारदेखि अधिवेशन सुरु हुनेछ। उद्घाटन समारोहलाई पार्टी महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुले सम्बोधन गर्दैछन्।
अधिवेशनका लागि १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधि छानिएका छन्। कर्णालीमा बिहीबारदेखि बन्द सत्र सुरु हुनेछ। त्यहाँ पनि नेतृत्वका लागि निर्वाचन हुने सम्भावना नै बलियो बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।