काठमाडौं- नेकपा एमाले बागमती प्रदेशको अधिवेशन राजधानी काठमाडौंमा सुरु भएको छ। विभिन्न ठाउँबाट र्यालीसहित सहभागीहरु उद्घाटनस्थल भृकुटीमण्डप आउने क्रम जारी रहेको छ। दुई दिन चल्ने अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन्। अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व समेत चयन गर्नेछ।
एमालेको लुम्बिनीपछि दोस्रो प्रदेश अधिवेशन हो। अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएका छन्। सर्वसम्मत नेतृत्व चयनको अभ्यास लुम्बिनीमा सफल नभएकाले बागमतीमा समेत उम्मेदवारहरुले प्रतिस्पर्धाको तयारी गरेका छन्।
प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु समेत आकांक्षी देखिएका छन्। अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको दाबी बलियो छ। सर्वसम्मत नेतृत्व चयनको अवस्थामा कृष्णभक्त पोखरेल, भूमि त्रिपाठी लगायतले आकांक्षा देखाएका छन्। यस्तै बागमती प्रदेशका पूर्वसभामुख रहेका सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डेले अध्यक्षमा दाबी कायम राखेका छन्।
सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने नभए भोटिङमा जाने तयारी रहेको आयोजक कमिटीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।