काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजधानी शहर बेइजिङमा विशेष सम्मान प्रदान गरिएको छ। सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ जनमुक्ति सेनाको टोलीले सम्मान गारत (गार्ड अफ अनर) प्रदान गर्यो।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नेपाली प्रधानमन्त्रीको सम्मानमा चिनियाँ सेनाले तोप समेत पड्काएको थियो। प्रधानमन्त्री प्रचण्डले चिनियाँ समकक्षी (प्रधानमन्त्री) लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नु अगाडि सेनाको टोलीले गार्ड अफ अनर प्रदान गरेको थियो।
प्रधानमन्त्री प्रचण्डलाई ग्रेट हल अफ दि पिपुल्समा उनका समकक्षी छ्याङले स्वागत गरेका थिए। प्रचण्डको स्वागतमा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री छ्याङले चीन र नेपालको सम्बन्धमा नयाँ उर्जा थपिएको महसुस चीनले गरेको बताए।
प्रधानमन्त्रीद्वय प्रचण्ड र छ्याङबीचको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन विविध सहयोग सम्झौतामा हस्ताक्षर समेत भएको छ। हस्ताक्षर भएका सम्झौताको विवरण भने सार्वजनिक भइसकेको छैन।
सोमबार नै प्रधानमन्त्री प्रचण्डले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गरेका थिए।
तस्बिरहरु: प्रधानमन्त्रीको सचिवालय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।