लिस्बन– निर्णायक खेलमा स्विटजरल्यान्डलाई पराजित गर्दै पोर्चुगल फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को लागि छनोट भएको छ।
पोर्चुगलले मंगलबार राति भएको समूह 'बी' को खेलमा स्विटजरल्यान्डलाई २–० गोलले पराजित गर्यो। जितपछि पोर्चुगलले समूहमा २७ अंक जोड्यो। २७ नै अंक बटुलेको स्विटजरल्यान्ड प्ले अफमा धकेलियो। पोर्चुगललाई जित दिलाउने क्रममा आन्द्रे सिल्भाले ५७ मिनेटमा गोल गरे। त्यसअघि स्विटजरल्यान्डका जोराउनले ४१ मिनेटमा आत्मघाती गोल गरेपछि पोर्चुगलले खेलमा अग्रता लियो।
समूह 'ए' बाट फ्रान्सले एक वर्षपछि रसियामा हुने विश्वकपमा लागि स्थान पक्का गर्योे। समूहको अन्तिम खेलमा फ्रान्सले बेलारुसलाई २–१ गोलले हरायो। फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यानले २७ तथा ओलिभर जिरुडले ३३ मिनेटमा गोल गरे।
स्विडेनलाई २–० गोलले पराजित गरेपनि नेदरल्यान्ड्स विश्वकपबाट बाहिरियो। नेदरल्यान्डका लागि अर्जेन रोबिनले १६ मिनेटमा पेनाल्टीमार्फ र ४० मिनेटमा गरी दुई गोल गरे। समूहमा फ्रान्सले २३ अंक जोड्यो। नेदरल्यान्ड्स र स्विडेनले समान १९–१९ अंक बटुले । गोलअन्तरमा नेदरल्यान्ड्सलाई पछि पारेर स्विडेन प्ले अफमा छानियो।
समूह 'एच' बाट ग्रिस प्ले अफमा पुग्यो। यो समूहबाट बेल्जियमा यसअघि नै विश्वकपमा छनोट भइसकेको छ। समूह चरणको अन्तिमा खेलमा ग्रिसले जिब्राल्टरलाई ४–० गोलले पराजित गर्योग। बेल्जियमले पनि साइप्रसमाथि ४–० को जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।