न्यूयोर्क– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको मुख्य कार्यालयमा आइतबार गुटेरेससँग भेटवार्ता गरेका हुन्।
भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भेटमा नेपाल र संयुक्त राष्ट्रसंघ बीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको छ।
राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आईतबार अमेरिकाको न्यूयोर्क पुगेका थिए।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ। यसपटकको महासभामा प्रधानमन्त्रीले ‘विश्व समुदायको विश्वास पुन: जागृत गर्ने तथा शान्ति, समृद्धि र सबै दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे’ सम्बोधन गर्नेछन्।
न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
महासभाकै क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाट गर्नेछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।