काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको छैटौं चरणको खेल जित्नै पर्ने दबाब नेपालमाथि छ। हङकङलाई हराउन सके मात्र नेपालको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप छनोट खेलमा चयन हुने सम्भवाना जीवित हुनेछ।
नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा प्रतिस्पर्धा हुँदैछ। डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ।
नेपाली टिम मंगलबार राति हङकङ प्रस्थान गरेको छ। हङकङ प्रस्थान गर्नुअघि नेपाली टिमका प्रशिक्षक जगत टमाटासँग सीताराम कोइरालाले गरेको विषेश कुराकानी:
नेपालको हङकङविरुद्ध खेलको तयारी कस्तो भयो?
हामीले समग्र तयारी राम्रो गरेका छौं। भारत भ्रमणमा खेलेका अभ्यास खेलमा राम्रो गर्यौं। टिम सेपमा छ। सबैले कडा परिश्रम गरेका छन्। यो खेल कति महत्वपूर्ण छ भनेर सबैलाई थाहा छ। आफ्नो, देश र क्रिकेटका लागि हङकङसँगको खेलमा जित्नुपर्ने कुरा सबै खेलाडीले राम्रोसँग बुझेका छन्। त्यसैले हामी मानसिक र शारिरीक रुपमा तयार भइसकेका छौं। अब हामी चुनौती लिन्छौं।
हङकङसँगको खेल पक्कै पनि ग्राहो छ। हङकङलाई पनि चुनौती छ। अर्कोतर्फ हाम्रो लागि हङकङ नयाँ टिम होइन। हामीले उनीहरुलाई धेरै पटक हराएका छौं। दुवै टिमलाई एक अर्काको कमीकमजोरी थाहा छ। दुवै टिम उस्तै स्तरको भएकाले खेल प्रतिस्पर्धात्मक हुन्छ।
हामीलाई हङकङविरुद्ध खेल जित्ने पर्ने अवस्था छ। जितका लागि कस्तो रणनीति लिनु हुन्छ?
जितको लागि हामीले राम्रो क्रिकेट खेल्नु पर्छ। टी–२० विश्वकप खेलिसकेको अवस्थामा अब नेपालको सपना एकदिवसीय विश्वकप खेल्ने हो। यही हिसाबले टिमले राम्रो क्रिकेट खेल्छ। खेलाडीहरुले दुई खेल जित्नका लागि आफ्नो सबै बल लगाउन तयार छन्। सबै खेलाडीलाई आफ्नो जिम्मेवारी राम्रोसँग बुझेका छन्।
नेपालले जहिले पनि ब्याटिङमा समस्या देखिने गरेको छ। ब्याटिङमा सुधार भइरहेको छ?
ब्याटिङ सुधारका लागि हामीले योजना बनाएका छौं। सबै खेलाडीलाई आफ्नो भूमिका बारे स्पष्ट पारिसकेको छु। सबैले बुझेका पनि छन्। भारत भ्रमणमा खेलिएका अभ्यास खेलमा योजना अनुसार नै ब्याटिङमा सुधार आएको छ। अभ्यास खेलमा २ सतक बने। यसले खेलाडीहरुमा आत्मविश्वास बढेको छ। ब्याट्सम्यानमा मौका पाएको अवस्थामा रन बनाउन सक्छु भन्ने विश्वास छ।
सम्बन्धित : हामीलाई जस्तै हङकङलाई पनि गाह्रो छ – पारस खड्का, कप्तान- नेपाली क्रिकेट टिम
हङकङको मैदानमा नेपालको लागि प्रतिस्पर्धात्मक रन कति हो?
हङकङको मैदान अलि सानो भएकाले कम्तिमा २ सय ७५ रन बनाउन पर्छ ।
नेपालको ओपनिङमा फेरि परिवर्तन भएको छ। केन्या विरुद्ध सुनील धमालाले खेलेका थिए । अब सागर पुनले खेल्दैछन्। ज्ञानेन्द्र मल्ल र सागर पुनको ओपनिङ जोडीबाट कस्तो अपेक्षा छ?
हामीले जसले राम्रो प्रदर्शन गर्छौ त्यसलाई मौका दिएका हौं। सुनील धमलाले यू–१९ मा राम्रो प्रदर्शन गरेकाले हामीले अवसर दिएका थियौ। तर उसले जुन प्रदर्शन गर्नु पर्ने थियो त्यो गर्न सकेन। अर्कोतर्फ हङकङविरुद्ध खेल हाम्रो लागि महत्वपूर्ण भएकाले हामी धेरै रिक्स लिन चाहादैनौ । हामीले अनुभवी खेलाडीलाई ओपनिङमा ल्याएका हौं। सागरले नेपाली टिमबाट खेलेको लामो समय भयो । पहिला पनि ओपनिङ गरेको छ। उसले आफ्नो भूमीका बुझेर खेल्न सक्छ। त्यसैले हामीले टिमको राम्रोको लागि नै ओपनिङमा परिवर्तन गरेका हौं।
नेपालको मिडल अर्डर ब्याटिङले इनिङ मजबुत पार्नेमा कतिको विस्वस्त हुनुहुन्छ?
हाम्रो ब्याटिङको बलियो पक्ष नै मिडल अर्डर हो। पारस खड्का, शरद भेषावकर र दीपेन्द्रसिंह ऐरी तीन जानै फर्ममा छन्। दीपेन्द्रले यू–१९ र सिनियरमा राम्रो खेलिरहेको छ। पारस र शरदले पनि राम्रो गरेका छन्। लोअर मिडल अर्डर पनि राम्रै साथ दिनेमा ढुक्क छ। जहाँ आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी र करण केसी छन्। हामी १० नम्बर सम्म ब्याटिङ गर्न सक्छौं।
नेपाल टिमको बलिङ अवस्था अहिले कस्तो छ?
टिममा रहेका तीन जना तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र ललित भन्डारी तीनै जना फर्ममा छन्। सोमपाल र करणले पछिल्लो समय राम्रो गरिरहेका छन्। ललितले पहिलो पटक मौका पाएको छ। उसले घरेलु प्रतियोगितामा आफुलाई प्रमाणित पनि गरेको छ। उसले टिममा पर्न धेरै मिहिनेत गरेको छ। स्पिन डिपार्टमा बसन्त रेग्मी र सन्दीप लामिछाने हाम्रो मुख्य खेलाडी हुन्। नयाँ आएका सुसन भारी र सुशील कँडेल अब नेपाल टिमको भविष्य हुन्। विकेटको कन्डिसन अनुसार उनीहरुले पनि मौका पाउनेछन्। उनीहरुमा खुवी छ। राम्रो गरेर नै च्यान्स पाएका हुन्। त्यहाँ गएर विकेटको अवस्था हेरेर थाहा हुन्छ। अहिले नै यो खेल्छ उ खेल्न भन्न गाह्रो हुन्छ।
नेपाली टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भन्डारीको प्रदर्शन सन्तोषजनक छैन भनेर आलोचना भइरहेको छ । विनोदबारे तपाईको धारणा के हो?
विनोद भनेको फरक खालको खेलाडी हो। उसले नेपालका लागि धेरै खेल जिताएको छ। फिनिसरको रुपमा खेलेको छ। कहिलेकाही प्रदर्शनमा तलमाथि हुन्छ। हामीले एकैपटक कोही खेलाडीलाई पनि बाहिर राख्न मिल्दैन। मेरो विचारमा नेपाली टिमलाई अहिले विनोद भन्डारीको जरुरत छ। हो विनोद प्रदर्शनमा चुकेको छ तर यो स्थानमा विनोद भन्दा राम्रो खेलाडी नेपालमा छैन। आगामी दिनमा आउन सक्ला। अहिले लागि विनोद आफ्नो स्थानमा उत्कृष्ट छ।
अन्त्यमा, नेपालले डब्लुसिएलमा शीर्ष चार हात पार्नेमा कतिको ढुक्क हुनुहुन्छ?
सिम्पल कुरा राम्रो क्रिकेट खेलेर जित्ने हो। दुई चरण जितेर विश्वकप छनोट खेल्ने हाम्रो एक मात्र उद्देश्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।