काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोईरालाको विचारलाई मूर्ति झैं पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन्।
शनिबार बिपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिपीलाई महामानव भन्दैगर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए।
उनले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हुने उल्लेख गरे।
महामन्त्री थापाले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको उल्लेख गरे। बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपी माथिको अन्याय भएको उनको भनाइ थियो।
महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भए पनि नैतिक शक्ति र नेता छ कि छैन भन्ने प्रश्न खडा भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।