काठमाडौं– संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसोसम्म एमाले पार्टी कार्यालय मुख्यालयमा राखिने भएको छ। बुधबार दिउँसोपछि उनको निजी निवास बालुवाटारमा राखिने जनाइएको छ।
बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ। नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि मंगलबार बिहानदेखि उनको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा राखिएको छ।
नेम्वाङको बिहीबार बिहान मात्रै अन्तिम संस्कार गर्ने तयारी छ। त्यसअघि धार्मिक, सांस्कृतिक तथा पारिवारिक विधिहरु पूरा गर्नुपर्ने भएकाले बुधबार दिउँसो १ बजेपछि पार्थीव शरीर निजी निवासमा राखिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए।
प्रतिनिधि सभा सदस्य एवम् एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ मंगलबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए। उनलाई मंगलबार बिहान १:५० बजे त्रिवि शिक्षण अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।