काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ जना सहसचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरेको छ।
निजामती सेवा ऐन, २०४९ को दफा १५ बमोजिम २०८० भदौ २५ को मन्त्रीस्तरीय निर्णयअनुसार ५ जना सहसचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरिएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सहसचिव तिर्थ चिलुवाललाई पदस्थापन गरिएको छ। यसअघि चिलुवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गत थिए।
त्यसैगरी कम्पनी रजिष्टारको कार्यालयको रजिष्टारमा सहसचिव दिवस आचार्यलाई पदस्थापन गरिएको छ। यसअघि आचार्य राष्ट्रिय सूचना आयोगमा थिए। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा सरुवा गरिएको छ।
मन्त्रालयका सहसचिव यज्ञराज कोइरालालाई प्रशासन तथा संस्थान महाशाखा, सहसचिव लीलाप्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा, सहसचिव गोविन्द बहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा, सहसचिव जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाको कामकाज तोकिएको छ।
यसअघि कोइराला औधोगिक तथा लगानी प्रवर्द्धन, शर्मा प्रशासन तथा संस्थान, कार्की बहुपक्षीय व्यापार तथा व्यापार सहायता तथा भुसाल योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा थिए।
त्यसैगरी १९ जना उपसचिवहरुको समेत सरुवा तथा शाखागत जिम्मेवारी हेरफेर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।