काठमाडौं– एएफसी एसिया कप २०१९ छनोट अन्तर्गत समूह 'एफ'को खेलमा नेपाललाई ताजकिस्तानले फेरि पराजित गरेको छ। पराजयसँगै नेपाल छनोटबाट बाहिरिएको छ।
ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भएको खेलमा नेपाललाई ताजकिस्तानले ३–० ले पराजित गरेको हो। तीनै गोल पेनाल्टीमा भएका थिए। एक महिनाअघि एन्फा कम्प्लेक्समा भएको खेलमा ताजकिस्तानले नेपाललाई २–१ पराजित गरेको थियो।
२० मिनेटमा नेपालका डिफेन्डर अनन्त तामाङले डिबक्समा ह्यान्ड गरेपछि ताजकिस्तानले पेनाल्टी पायो। प्राप्त अवसरमा ताजकिस्तानका नुरुदिन डारोनोभले गोल गरे। ६० मिनेटमा आदित्य चौधरीले ताजकिस्तानका खेलाडीलाई फउल गरेपछि रेफ्रिले दोस्रो पटक पेनाल्टीको अवसर दिए। पर्भिजोनले गोल गरेर ताजकिस्तानलाई २–० ले अघि बढाए। खेल सकिन तीन मिनेट बाँकी छदा डाजिनोभले पेनाल्टीबाटै तेस्रो गोल गरेका थिए। यसपटक पनि आदित्यले नै फल गरेका थिए।
खेलमा नेपाली टिमको कप्तानी फरवार्ड भरत खवासले दिइएको थियो। नियमित कप्तान विराज पहिलो रोजाइमा पर्न असफल भएपछि भरतलाई कप्तानी दिइएको हो।
नेपाल समूह 'एफ' को अंक तालिकाको पुछारमा छ। खेलेका ४ मध्ये नेपाल ३ खेलमा पराजित भएको छ भने १ खेलमा बराबरी खेलेको छ। समूहमा १ अंक मात्र भएकाले नेपालकाो छनोट यात्रा सकिएको हो। मंगलबार नै भएको खेल यमन र फिलिपिन्सले गोलरहित बराबरी खेले। समूहमा फिलिपिन्सले ८ अंक जोडेको छ भने यमन र ताजकिस्तानले समान ६–६ अंक बटुलेका छन्। समूहका शीर्ष २ टिम २ वर्षपछि यूएईमा हुने एसिया कपमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।