काठमाडौं– राजनीतिक विश्लेषक हरि शर्माले कांग्रेस महामन्त्री गगन थापालाई आफ्नो 'प्रोजेक्ट गभर्नमेन्ट' को बारेमा जनतालाई भनिदिन सुझाव दिएका छन्। उनले थापालाई आफू प्रधानमन्त्रीका लागि तयार रहेको भन्न सुझाव दिएका हुन्।
नेपाली कांग्रेसद्वारा आयोजित साहित्य महोत्सवको सोमबार ‘बीपीले नपाएको १५ वर्ष’ शीर्षकको छलफलमाथापाले आफूहरूले पाएको १५ वर्षभन्दा बढी समयका बारेमा टिप्पणी गर्न लगाएका थिए। जवाफमा थापालाई शर्माले सत्तामा जाने वा संसदीय दलको नेता हुने हो भने आफूसँग यो यो कार्यक्रम छन् भनिदिन आग्रह गरे।
‘गभर्नेन्सका लागि सोच चाहिन्छ, योजना चाहिन्छ र तयारी चाहिन्छ भनेर बीपीले हामीलाई देखाएको बाटो हो। त्यसका लागि एउटा शान्त मन पनि चाहिन्छ। त्यही भएर १८ महिनामा बीपीले कैयौँ काम गर्न सक्नुभयो। आज हामीसँग बीसौँ वर्ष भइसक्दा पनि तयारी छैन। हामीसँग त्यो हुटहुटी छैन,’ शर्माले भने, ‘गगन मञ्चमा भएकाले भनेको होइन। तर 'प्रोजेक्ट गभर्नमेन्ट' भन्ने कुरा सायद त्यस्तै सोचाइ हो कि। हो भने पब्लिकलाई भन्नुपर्यो, म तयार छु।’
उनले मन्त्री बनेको १५ दिनमा, वा संसद्मा पुगेको दिन यो गर्न सक्छु भन्ने कुराको निष्ठा र विश्वास जनतालाई दिलाइयो भने राजनीति सार्थक हुने बताए। ‘सामाजिक परिवर्तनका लागि राजनीति हो। तपाईंहरूलाई सत्तामा पुर्याउनका लागि राजनीति होइन भन्ने कुरामा हामीले जब विश्वास दिलाउँछौँ, तब अगाडि बढ्न सकिन्छ,’ उनले भने, ‘बीपीबाट सिक्ने भनेको जुन दिन सिंहदरबारमा खुट्टा हाल्नुहुन्छ, दोस्रो दिनको क्याबिनेटले तपाईं के गर्न सक्नुहुन्छ, त्यो तयारी गर्नुस्। किनभने राजनीति जोगी बन्न गएको होइन। जनताको सेवाका निम्ति हो। भनेको कुरा पूरा गर्नका निम्ति हो।’
उनले अहिलेको राजनीतिले भनेको कुरा पूरा नगर्ने र जवाफदेहिताको पनि कमी रहेको बताए। ‘अहिलेको राजनीतिक नेतृत्वले सुन्दैन। हामी चाहन्छौँ, सुन्नुपर्यो। संवाद हुनुपर्यो। मुलुकमा यत्रो-यत्रो घटना हुन्छ, भ्रष्टाचार हुन्छ, के हुन्छ। जुन राजनीतिक नेतृत्व सुन्दैन र संवाद गर्न तयार छैन। त्यसबाट के आश गर्ने?,’ उनले भने, ‘बीपीलाई सम्झिने क्रममा, जवाफदेहिताको खोजी पनि हो हाम्रो। नागरिकको हैसियतले मलाई सुन्ने नेतृत्व चाहिएको छ। कुरा गर्ने नेतृत्व होइन।’
शर्माअघि उस्तै प्रश्नको जवाफ दिएका संविधानविद् विपिन अधिकारीले अहिलेका राजनीतिकर्मीमा निष्ठा नरहेको बताए। उनले भने, ‘अहिले हामीसँग संविधान एकदमै राम्रो छ। संविधान नराम्रो छ भन्नुपर्ने कारण छैन। तर निष्ठाको कमी देखिन्छ। त्यही कारणले त्यो परिवर्तन देखिरहेका छैनौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।