काठमाडौं– नेपाली कामदार वैदेशिक रोजगारीमा जाने श्रम गन्तव्य देशमा रहेका नेपाली राजदूत र नियोग प्रमुखलाई सरकारले काठमाडौं बोलाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा विदेशस्थित नेपाली दूताबास तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई काठमाडौं बोलाइएको हो। प्रधानमन्त्री प्रचण्डले उनीहरुसँग २ दिने बैठक आयोजना गरेका छन्।
बैठकको अध्यक्षा स्वयं प्रधानमन्त्रीले गर्ने जनाइएको छ। बैठकमा श्रम आप्रवासनका सवालहरु र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुने बताइएको छ।
‘वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो।
बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ। छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहने जनाइएको छ।
बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवस्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने बताइएको छ। यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलोपटक भइरहेको बताइएको छ। बैठक सोमबार र मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।