काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती सेवामा गुणात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्। राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई रूपान्तरण गर्न २०१३ भाद्र २२ मा जारी भएको निजामती सेवा ऐनको भूमिकालाई समेत आत्मसाथ गरी अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ।
निजामती सेवा दिवस, २०८० का अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निरासालाई चिर्दै जनतामा आशाको रक्तसञ्चारसहित राष्ट्रको मुहार फेर्ने अहिलेको अभियानमा निजामती कर्मचारीहरू मन, वचन र कर्मले दृढतापूर्वक क्रियाशील रहने विश्वास व्यक्त गरे।
‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरूपमा प्रतिबद्व, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी, व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यवहारिक प्रबन्ध गर्नुपर्दछ,’ प्रधानमन्त्रीले भने।
लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीबार मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्नेछ भन्ने विश्वास व्यक्त गरे।
‘संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तीन तहबीच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाई प्रशासनिक संघीयतालाई संस्थागत गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा संघीय निजामती सेवा ऐन कोशेढुङ्गा हुने नै छ,’ प्रधानमन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।