काठमाडौं– नेपालका लागि चिनियाँ राजदुत छन सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएका छन्।
केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युत्बाट घाटा व्यहोरिरहेको अभिव्यक्ति दिएका थिए। राजदूतको उक्त अभिव्यक्तिप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले चिनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धका बारेमा बोल्न नमिल्ने बताएका छन्।
बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदूतहरुले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने बताए। उनले कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिनु नहुनेमा सबैले ध्यान पुर्याउनुवपर्ने बताए।
नेकपा एमालेका सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनै पनि देशले बोल्नु राम्रो नभएको बताए। उनले चिनियाँ राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्ट पारेपछि मात्रै आफूहरुले थप दृष्टिकोण राख्ने बताए।
उनले भने, ‘नेपालको आन्तरिक मामिला र अन्य देशहरुको सन्दर्भमा कुनै पनि पक्षले बोल्नु राम्रो होइन। तर चिनियाँ राजदूतले के बोल्नुभएको हो, त्यो प्रष्ट बुझेर उहाँहरुसितै बुझेर वा अन्य माध्यमबाट बुझेर हाम्रो परराष्ट्र मन्त्रालयले यस सम्बन्धि प्रष्ट पारिदियो भने हाम्रो दृष्टिकोण राखौंला।’
नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिन नहुने बताए। उनले अरुको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कुटनीतिको हिसाबले पनि बेठिक भएको बताए। यस विषयमा चिनियाँ राजदूतलाई शतर्क गराउन परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताए।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदूतको अभिव्यक्ति घोर आपत्तिजनक भएको टिप्पणी गरे। उनले यो गम्भीर कुरा भएको भन्दै दुई देशको सम्बन्धमा तेस्रो देशले अभिव्यक्ति दिनु शोभनिय नभएको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चिनियाँ राजदूतको अभिव्यक्तिको सम्बन्धमा सरकारले उनलाई बोलाएर सचेत गराउनुपर्ने बताए। राजदूतहरुले अन्य देशसँगको सम्बन्धको बारेमा अभिव्यक्ति दिने कुरालाई रोक्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले राजदूतहरुले नेपालको अन्य देशसँगको सम्बन्धका बारेमा टिप्पणी गर्न थालेमा देश भू–राजनीतिक जटिलतातर्फ जाने बताए। यसर्थ राजदुतलाई सचेत गराउनुपर्ने उनको भनाइ छ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तत्कालीन भारतका लागि नेपाली राजदूतले चीनसँगको सम्बन्धको बारेमा टिप्पणी गरेको भन्दै त्यस विषयमा पनि छलफल गर्नुपर्ने बताए।
यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल–भारत सम्बन्धमा चीनले बोल्नु जरुरी नभएको बताए। आगामी दिनमा यसरी अभिव्यक्ति दिने कुरामा सुधार गर्नुपर्ने उनको भनाइ छ। अध्यक्ष साहले राजदूतले बोल्ने, नबोल्ने विषयहरुमा संहिता नै बनाएर राजदूतहरुलाई सचेत गराउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।