काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्युका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यी दुई घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए। सांसदहरुले गराएको ध्यानकर्षणपछि सभामुख घिमिरेले जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।
बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि खुकुरी प्रहार भएको थियो। प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादवमाथि पछाडिबाट प्रहार गरेका थिए।
यस्तै सांसदहरुले उपचारका लागि अस्पताल पुगेकी बालिकाको कान्ति बाल अस्पतालमा निधन भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।
बालिका रेजिशा गोपालीको निधन हुनु दु:खद भएको भन्दै किन उपचार गरिएन? त्यसको छानबिन हुनुपर्ने माग सांसदहरुले उठाएका थिए। खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेरी राखेको अनि इमर्जेन्सी कक्षमै निधन भएको घटनाले राज्यको बेवास्ता र अस्पतालको लापरबाही भएको उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।