काठमाडौं- नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक हमला पछाडि हात हुने व्यक्ति र समूहलाई पनि कारबाही गर्न माग गरेको छ। कांग्रेसले विज्ञप्ति जारी गर्दै यादवमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुनसक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारबाही गर्न माग गरेको हो।
सहमहामन्त्री यादवमाथि भएको आक्रमणको कांग्रेसले भर्त्सना समेत गरेको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको थियो। यादवको टाउको र जिउमा चोट लागेको छ। यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
खुकुरी प्रहारको आरोपमा प्रहरीले १ जनालाई पक्राउ समेत गरिसकेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।