काठमाडौं– भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा चन्द्र भण्डारी र कांग्रेस केन्द्रीय सदस्य महेन्द्र रायले भेटेका छन्।
उनीहरू मंगलबार सुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर नेता खाणलाई भेटेका कारागार प्रशासनले जनाएको छ।
निकटस्थ स्रोतका अनुसार भेटमा खाणले डा भण्डारीलाई स्वास्थ्य अवस्थाबारे सोधेका थिए। डा भण्डारी घरमै खाना पकाउने ग्यास पड्किँदा घाइते भएर उपचार गराइरहेका छन्।
डा भण्डारीले भने समसामयिक राजनीतिबारे जानकारी गराउँदै स्वास्थ्य अवस्थाबारे जानकारी लिएको स्रोतले बतायो। दुई नेताबीच आधा घण्टा बढी कुराकानी भएको थियो।
खाण र डा भण्डारी एउटै प्रदेशका भए पनि पार्टीभित्र फरक–फरक गुटका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।