एलबी सरकोमा फ्रिमा ट्युसन पढ्थेँ। फ्रिमा किन भने आमाले ट्युसन फि दिन सक्थिनन्। फि दिन नसक्ने आमाहरूबाट पैसा पनि थाप्थेनन् एलबी सर।
दीलिप, धनबहादुर, काबेरी, आशिषहरू पनि पढ्थे। हामी क्लास बीमा पढ्थ्यौं। क्लास वान जान पढ्दैथ्यौं।
ट्युसन आएन भने घरैमा लिन आउँथे सर। डिबगोली खेलिरहेको ठाउँमा च्याप्प समात्थे। कानमा समातेर बिरालोलाई जस्तै उचाल्थे। आँखामा पिरो पस्थ्यो। पिलपिलाउँथ्यो। तरक्क आँसु चुहुन्थ्यो। बाख्रालाई डोरीले तानेर मैदानमा खुट्टी गाडेर बान्थ्यौं हामी। एलबी सरचाहिँ कानैमा तानेर हामीलाई ट्युसन पुऱ्याउँथे।
ट्युसन जानु पनि साह्रो नजानु पनि साह्रो।
होम वर्क दिनुहुन्थ्यो। याद गरेर सुनाउनुपर्ने। खातामा पनि लेख्नुपर्ने।
त्यतिबेला मकै पाकेको थियो। सरको घरमुन्तिर सात वटा गह्रा थियो। बारीमा पाकेको मकै। कोकोले र भ्याकुराले भुर्कुट पारिसकेको थियो। बिहानै ट्युसन पुग्दा आँगनमा पाँच वटा डोको थियो।
साथीहरू पनि जम्मा भए। सिकुवामा खाताकिताब फिजाउन पनि पाएनौं, सरले भन्नु भो, ‘आजु बारीमा पढ्नुपर्छ है केटाकेटी हो।’
सर डोको बोकेर बारीतिर निस्किनु भो। ‘एकएक वटा डोको बोकेर हिँड मेरो पछिपछि,' सरले भन्नुभयो। हामीले चाल पाइहाल्यौं। आजु पढ्नु पर्दैन। खाताकिताब सिकुवामै फ्याँकेर डोको टिप्न झुत्तियौं। पढ्न नपर्दाको हर्ष डोको बोकाइमा थियो। त्यसैले डोको टिप्न सबै झम्टियौं।
अघिल्लो दिन हिसाब सिकाउनुभएको थियो। १० सम्मको गुणा याद गर्नु, जोड्नु, घटाउनु, भाग गर्नु, गुणा गर्नु। मलाई १० सम्मकै गुणा थाहा थियो, यसकारण मलाई समस्या थिएन। तर साथीहरू ७ को गुणासम्म पनि पुग्न सकेका थिएनन्, साह्रो उनीहरूलाई थियो।
तर के र, आज ट्युसन पढ्नै नपर्ने भयो। मकै बोक्ने ट्युसन जो थियो।
सरको पछिपछि हल्ला गर्दै लाग्यौं।
सरले पुछार बारीमा पुऱ्याउनुभयो। लाइनै राख्नुभयो। एक जनाले मकै भाँचेर डोकोमा हाल्नै लागेको थियो, सरले सिर्कुना हान्नुभयो। त्यसको छेपारीमा सुम्लै उठ्यो। सरले डोकोमा सिर्कुना बोक्नुभएको रहेछ। त्यो देखेर हामी डरले डोको बोकेर सावधानमा उभ्भिएका थियौं। डोको कसैको ठूलो थियो, कसैको सानो। सबैभन्दा ठूलो डोको मेरै थियो। साथीहरूले हतारहतार सानो छानेर बोकेपछि छोडिएको जो डोको थियो त्यो।
सबैभन्दा सानो डोको त्यसकै थियो। धेरै चतुर थियो त्यो। नजानिँदो बदमास पनि। काम देखाउन रिफ्फु। नराम्रो बनाउन रिफ्फु। कुटाइ खुवाउन रिफ्फु।
‘मैले मकै भाँच भने तँलाई?’ सरले त्यसलाई सोध्नुभयो।
प्रश्न मात्र होइन सरले सिर्कुना पनि उठाउनुभएको थियो। बाँसको हाँगाको खिरिलो सिर्कुना। सुकेको। त्यसले चाक र पासुँला, छेपारीमा भेट्दा जे देख्थ्यौं त्यो पृथ्वीलोक हुन्थेन नै। त्यसले अहिले त्यस्तै लोक देखिरहेको थियो।
त्यसले आँसु पुछ्दै ‘होइन’- मा टाउको हल्लायो।
फेरि सिर्कुना हान्नुभयो।
‘अन्त किन बाठो भइस?’ सरको आँखामा रिस त उस्तो देखिन्थेन तर लाग्थ्यो संसारको सबैभन्दा पिटुवा सर एलबी सर नै हुन्।
त्यसैकारण सर खोक्दा पनि पिसाब निस्केला जस्तो हुन्थ्यो।
फेरि सरले सिर्कुना उठाउनुभयो। त्यसको होस गायब होला जस्तो भइसकेकै थियो। एकहातले थाप्लोको नाम्लो थामेर अर्को हात सिर्कुना रोक्न उठाउन थालिसकेको थियो। त्यो हात सिर्कुना जताजता जान्थ्यो उताउतै नाँच्थ्यो।
‘६ को गुणा भन्,’ सरले त्यसैलाई सोध्नुभयो।
यतिखेर त्यो कालोनिलो भइसकेको थियो। कालोनिलो मात्रै किन र हरियोनिल्लै पनि भइसकेको थियो। त्यसको एउटै कारण थियो- ६ को गुणा। जो त्यसलाई कण्ठस्थ छैन।
त्यो भन्दै जान्थ्यो, छ छका छत्तीसपछि अड्किन्थ्यो। पहिलोपल्ट अड्किँदा सरले भन्नुभयो, ‘मनोज मकै भाँच, यो जतिपल्ट अड्किन्छ, त्यतिवटै यसको डोकोमा हाल्नु।’
मैले मकै भाँचेर त्यसको डोकोमा हालिदिएँ।
त्यो छछछत्तीसबाट अघि बढेन। त्यसको डोको भरियो।
डोको भरिएपछि सरले एक सिर्कुना फेरि हाने। त्यो भारी बोकेर थरर काम्यो। न भारी झार्न सक्थ्यो न सिर्कुना बज्रेको ठाउँमा छाम्न नै सक्थ्यो त्यो। बस्, थररर काम्थ्यो।
‘जा सिकुवामा खनाएर आइज,’ सरले भन्नुभयो। त्यो थिरिरि हुँदै गयो।
त्यसपछि अर्कोको पालो आयो।
—000—
सबैको डोको त्यसरी नै भरियो।
मेरो पनि पालो आयो। सवाल-जवाफ भयो।
सकेर सरले खिस्स हाँसेर सोध्नुभयो, ‘के गर्छस्?’
मैले भने, ‘हाल्दिनुस् सर।’
सरले मेरो टाउको मुसार्नुभयो र तीन वटा मकै भाँचेर हाल्दिनुभयो। म बोकेर फिलिली कुदेँ। मैले सबै प्रश्नको जवाफ दिएको थिएँ। त्यसै कारण, ‘के गर्छस्?’ भनेर सोध्नुभएको थियो।
सिकुवामा पुग्दा मकै डङ्गुर थुप्रिएको थियो। साथीहरू पासुँलाको सुम्लामा फुफु गरेर फुकिरहेका थिए।
--- यसरी पढाउनुहुन्थ्यो एलबी सरले।
भोलिपल्ट सरले दलगाउँ प्राथमिक पाठशाला जाँदै गरेको मलाई उनको स्कुल ४६ प्राथमिक पाठशाला सार्नुभयो।
दलगाउँमा बी-मा पढ्दै गरेको म इक्जाम नलेखी ४६ मा वान क्लासमा बसेको थिएँ।
हरेक 'टिचर्स डे'मा मलाई याद आउने उनी नै हुन्।
[भारतमा आजकै दिन (सेप्टेम्बर ५) शिक्षक दिवस मनाउने गरिएको छ।]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।