पोखरा – जाकार्ता(इन्डोनेसिया) मा हालै सकिएको एसियाली खेलकुदको १८ औं संस्करणमा नेपालले एक खेलमा रजत पदक ल्याएसँगै पदकविहीन हुनबाट जोगियो।
खेल प्याराग्लाइडिङ थियाे, जसमा नेपालले पहिलो पटक भाग लिएको थियो। खेलको सफलताले चर्चा त पायो तर त्योभन्दा बढी चर्चामा छन् अहिले युकेश गुरुङ।
उमेरले नेपाली प्याराग्लाइडिङ टिममा मात्र नभएर पूरै एसियाली टिममा कान्छा खेलाडी बने युकेश। कान्छा खेलाडी भएपनि उनले खेल अवधिभर देखाएको उत्कृष्ट प्रर्दशनले सबैको ध्यान खिच्न सफल भयो। विश्वमा साहसिक खेलका रुपमा चिनिएको प्याराग्लाइडिङले भने नेपालमा खेलकै रुपमा मान्यता पाएको भने धेरै वर्ष भएको छैन।
तर, खेलमा भाग लिएको पहिलो वर्ष नै प्याराग्लाइडिङले ऐतिहासिक जित निकाल्यो। टिम नेपालले एसियाली खेलकुदमा पाएको सफलतामा युकेशको योगदान महत्वपूर्ण रह्यो।‘पदक जित्छु नै भन्ने थिएन। आफ्नो बेस्ट दिनमात्रै खाजेको थिएँ,’ युकेश भन्छन्।

उनी ९ वर्षको उमेरदेखि नै प्याराग्लाइडिङतर्फ आकर्षित भएको सुनाउँछन्। उनका बाबुको पोखरा लेकसाइडमा होटल व्यवसाय भएपनि पेसाले प्याराग्लाइडिङ पाइलट हुन्।
युकेशले ९ वर्षको उमेरदेखि नै प्याराग्लाइडिङ उडानको सामान्य तालिम लिएपनि १२ वर्षदेखि आकाशमा उड्न थालेका हुन्। भन्छन्, ‘घरमा बाबा नै पाइलट हुनुहुन्थ्यो। सिक्न र आकाशमा उडान मलाई सजिलो भयो।’ घरमा पाएको सकारात्मक सहयोगले उनलाई ठूलो सफलता हात परेको सुनाउँछन्।उनको उडानको पहिलो अनुभव भने रमाइलो छ।
बाबुको होेटेलमा बास बस्न आएका विदेशी पाहुनाहरूको पुरानो ग्लाइडर मागेर उनी प्याराग्लाइडर बनेको बताउँछन्। ‘होटेलमा विदेशी आउँथे। उनीहरूको पुरानो ग्लाइडर मागेर नै प्याराग्लाइडिङ सिकेको हुँ। पछि आकाशमा उड्न त्यति गाह्रो भएन,’ उनी सुनाउँछन्।
जुन आकाशमा उडेपनि आफूभित्र आत्मविश्वास हुनुपर्ने उनको तर्क छ। सामान्य अर्थमा प्याराग्लाइडिङ उडाउनु नै हो, जुन आकाशमा उडाएपनि एउटै हुन्छ भन्ने सोच छ। तर, यस विचारको खण्डन गर्छन् युकेश। भन्छन्, ‘यता डाँडामाथि उडानुपर्छ। उता (इन्डोनेसियामा) बस्तीमाथि नै उडाउनुपर्ने रहेछ। धेरै फरक रहेछ।’

राज्यले चाहेजति लगानी गर्न सके आफूले अझै राम्रो गर्न सक्ने उनी बताउँछन्। ‘प्याराग्लाइडिङ साहसिकमात्रै नभएर आफैंमा महंगो खेल पनि हो। २ वटा ग्लाइडर किन्न नै लगभग १५ लाख जति लाग्छ,’ युकेश भन्छन्, ‘यसपाली सरकारले राम्रो लगानी गर्यो। आगामी दिनमा पनि यस्तै लगानी गर्यो भने अझै राम्रो गरेर देखाउनेछौं।’
आफ्नो भविष्य नै प्याराग्लाइडिङ बनाएकाले यसैमा राम्रो प्रगति गर्ने उनको लक्ष्य छ।
एसियाडमा प्याराग्लाइडिङमा सहभागी भएका पुरुष समूहतर्फ प्याराग्लाइडर युकेश गुरुङसहित विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ र विशाला थापा सहभागी थिए।
महिलातर्फ प्रतिभा भुजेल, तृषा तामाङ र सविता तामाङ सहभागी थिए। महिला टिम छैटौँ नम्बरमा आउन सफल भएको थियो।

यो पनि: एसियाडमा जितेर अाएकाे प्याराग्लाइडिङ टाेलीलाई पोखरामा भव्य स्वागत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।