काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारले विश्वासको मत लिँदा संविधान मिचिएको दाबी गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ।
दुई महिला न्यायाधीशको इजलासमा उक्त मुद्दा पहिलो नम्बरमा रहेको छ। नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यसअघि एकल इजलासबाट अन्तरिम आदेश जारी भएको छ।
प्रदेश सभा बैठकको अध्यक्षता गरिरहेको व्यक्ति पनि मतदानमा संलग्न हुदै संविधान उल्लंघन भएको दाबी रिटमा गरिएको छ। भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
यो सँगै थापा नेतृत्व सरकार दोस्रो पटक संकटमा परेको थियो। उक्त रिटको पेसी सर्वोच्चले आजबाट सुनुवाइ निरन्तर गरेर किनारा लगाउनुपर्ने छ।
सर्वोच्चमा मुद्दा विचाराधिन हुँदा बजेट होलिडे भएको छ। कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा सर्वोच्चमा रिट दिएका थिए।
उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएकोले निरन्तर सुनुवाइ गरेर टुंगोमा पुर्याउने सर्वोच्चको तयारी छ।
सर्वोच्चले विश्वासको मत लिने प्रक्रिया मात्र बदर गर्छ कि उपधारा ३ अनुसार सरकार गठनको आदेश दिन्छ भन्नेमा मुख्यमन्त्री थापाको भविष्य निर्धारण हुने देखिन्छ। विश्वासको मत पुन: लिनु भनेमा थापाले बहुमत पुर्याउने अभ्यास गर्न पाउनेछन्।
यदि उपधारा २ मा सरकार बन्ने नदेखिएकाले अरु धारामा जानू भनेमा एमालेले सरकार बनाउन पाउने छ। एमालेसँग पनि राप्रपा मिलेर ४६ सांसद छन्। एमालेले पनि ३५ दिनभित्र विश्वासको मत लिनुपर्ने छ।
मुख्यमन्त्री थापासहित प्रतिवादीहरु सबैले सर्वोच्चले दिएको म्याद भदौ १३ गते भित्रै सर्वोच्चमा लिखित जवाफ बुझाइसकेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।
उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए। यसविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।