काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टीको इतिहास र राजनीतिक अजेण्डाको तागतमा पछिल्लो पटक पनि प्रधानमन्त्री बन्न सफल भएको दाबी गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक अजेण्डाको बलमा आफू तेस्रो पटक पनि प्रधानमन्त्री बनेको दाबी गरेका हुन्।
शनिबार काठमाडौंको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उनले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको बताए। आफूले प्रधानमन्त्रीमा करिव शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरु पार्टीहरुको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको उनको भनाइ थियो।
प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको भरोसा जगाउन र सिंगो पार्टी पंक्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनु परेको दाबी गरे।
प्रतिक्रियावादीहरुले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार विरोधी अभियानबारे भ्रम फैल्याउने कोशिस गरिरहेको उनले आरोप लगाए।
उनले आफूले सुरुवात गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रुपमा लिनुपर्ने जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।