काठमाण्डौं– नेकपा माओवादी केन्द्रका उपहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले देशमा अहिले जनताको सरकार रहेको बताएका छन्।
गोंगबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’को शनिबार उद्घाटन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए। देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो।
सुशासनका लागि भ्रष्टाचारविरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै समग्र मुलुकको शद्धीकरणका लागि थालिएको पुनले उल्लेख गरे। पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरुमा वैध/अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने
प्रवृत्ति हाबी भएको बताए।
पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने पनि बताए। राष्ट्रिय र आत्मनिर्धर पुँजी निर्माण गर्ने राष्ट्र प्रेम तथा देशभक्तिको भावना भएका युवाहरुलाई तयार गर्ने अभिायान पनि भएको उनकाे भनाइ थियाे। राज्यप्रति जनतामा कम हुँदै गएको विश्वास जागृत गरी राज्य मेरो अभिभावक हो भन्ने भावना पैदा नगराएसम्म जनतामा रानजीतिक नेतृत्वले विश्वास आर्जन गर्न कठिन रहेको पुनले बताए।
प्रधानमन्त्री प्रचण्डले आफू र मेरो आफ्नो परिवारका कोही पनि सदस्यले भ्रष्टाचारजन्य काम गरेको भए कठघरामा उभिन तयार छु भन्ने सामान्य विषय नभएको व्याख्या गरे। ‘बहालवाला प्रधानमन्त्रीले म र मेरो परिवारका कसैले भ्रष्टाचारजन्य अपराध गरेको देखियो भने पनि कठघरामा उभ्यानु भनेर अनुसन्धान गर्ने निकायलाई सार्वजनिक रुपमा अपिल गरेर त्यस प्रकारको उच्च नैतिक उचाई प्रदर्शन गर्नु सामान्य कुरा हुन सक्दैन’, पुनले भने।
प्रधानमन्त्रीले अभिव्यक्तिले भ्रष्टाचार छानबिन गरिरहेका निकायलाई दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता मिलेको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।