काठमाडौं- नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनका दलहरूभित्र कुनै पनि समस्या नरहेको दाबी गरेका छन्। शुक्रबार पार्टी कार्याालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा पत्रकारहरूले साधेको प्रश्नमा उत्तर दिँदै प्रवक्ता सापकोटाले यस्तो बताएका हुन्।
उनले सत्ता साझेदार दल नेपाली कांग्रेससहित एकीकृत समाजवादी र अन्य दलहरूसँग पनि कुनै खटपट नभएको दाबी गरे। केही दिनअघि नेपाली कांग्रेसका नेता र प्रधानमन्त्री प्रचण्डले नै पनि एकअर्कााप्रतिको असन्तुष्टि सार्वजनिक गरेका थिए।
केही दिनअघिको संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले पनि आफूलाई सबैको समर्थन रहेको भनेर नसोच्न प्रधानमन्त्रीलाई चेतावनी दिएका थिए। थापाको भनाइमा टिप्पणी गर्दै पूर्वसभामुख समेत रहेका सापकोटाले सांसदले आफ्नो निजी भनाइ राखेको बताए। तर गठबन्धनमा कुनै समस्या नभएको र भाबी दिनमा पनि नआउने भनाइ उनले राखे।
‘मैले बुझेसम्म गठबन्धनमा कुनै समस्या छैन र आउँदैन पनि,’ उनले भने, ‘कांग्रेस र माओवादीका बीचमा त खटपट परेको छैन।’ उनले कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठक र केही दिनअघि बसेको संसदीय दलको बैठकले पनि गठबन्धन दृढ रहने निर्णय गरेकाले पनि त्यस्तो आफूलाई नलागेको बताए।
पछिल्लो समय एमसीसीलाई लिएर सत्ता गठवन्धनमा बीचमा फरक-फरक धारणा सुनिन थालेको थियो। यही कारण सत्ता गठबन्धनभित्र समस्या आएको हो भनी सोधेको प्रश्नमा सापकोटाले एमसीसीमा माओवादी केन्द्र प्रष्ट रहेकाले विवाद नहुने बताए।
उनले एमसीसीबारे पार्टी १२ बुँदे व्याख्यात्मक घोषणाा सम्झौताको अंग बन्नुपर्छ भन्ने पक्षमा रहेको पनि बताए। व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको अंग बन्नुपर्ने र सार्वभौम संसद्ले पास गरेको कुरा भएकाले त्यही रुपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।