काठमाडौं– समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेशमा समन्वय समिति गठन गरेको छ। कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजित सन्देश सभाबाट प्रदेश समन्वय समिति घोषणा गरिएको हो।
मोर्चामा आबद्ध ४ दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपाका ३–३ जना सदस्य राखेर समन्वय समिति घोषणा गरिएको हो।
समितिमा माओवादी केन्द्रबाट विमला केसी, कृष्णबहादुर जिसी र दिनेश चँदारा छन्। त्यस्तै, एकीकृत समाजवादीबाट प्रकाश ज्वाला, अमरबहादुर थापा र ठगेन्द्र पुरी छन्।
समितिमा जसपाबाट देवीराज न्यौपाने, गगन सारु र सन्तोषी विक तथा नेकपाबाट विराट सी, पौरख सी र सभ्यता सी सदस्य छन्।
बिहीबारको सन्देश सभामा सम्बोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द, जसपाका नेता प्रकाश अधिकारी लगायत वीरेन्द्रनगर पुगेका छन्।
उल्लेखित ४ दलले गत असार ४ गते समाजवादी मोर्चा नेपाल घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।