काठमाडौं– प्रतिनिधि सभामा ‘केही नेपाल ऐन संशोधन विधेयक’माथि छलफल भइरहँदा सांसदहरु हाजिर गरेर बाहिर हिडेपछि गणपुरक संख्या नपुगेर एक साताका लागि स्थगित भएको छ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रश्नोत्तरपछि छलफलमा रहेको विधेयकमा सांसदहरुको संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित भएको हो।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा भरिएको प्रतिनिधि सभाको बैठक विधेयकमाथि छलफल चलिरहँदा रित्तो भएको थियो। ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठक छोडेर हिँडेपछि गणपुरक संख्या नपुगेको हो। बैठकका लागि आवश्यक पर्ने एक चौथाई संख्या नपुगेपछि स्थगित भएको हो।
सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई निर्णयार्थ प्रस्तुत गर्न लागेका थिए। सैद्धान्तिक छलफल अनुमोदन गर्नका लागि सभामुखले निणर्यका लागि पेस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक संख्यामाथि प्रश्न गरिन्।
उनले निर्णयका लागि आवश्यक सांसदहरुको संख्या नपुगेनन् भन्दै सांसदहरूको गणना गर्न माग गरिन्। उनीसँगै एमाले सांसद दामोदर पौडेल वैरागीले पनि गणपूरक संख्या यकिन गर्न माग गरे। उनले बहुमत सांसदको संख्या नभएकाले विधेयकको विषयलाई अघि बढाउन नमिल्ने भन्दै गणनाको माग गरे।
सांसदहरुले नियमापत्ति गरेपछि सभामुखले घण्टी बजाएर सांसद संख्या गणना गर्न लगाए। गणना गर्दा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र उपस्थित भएको पाइयो।
आवश्यक संख्या नपुगेपछि सभामुख घिमिरेले सदनको बाँकी कार्यसूची स्थगित गर्दै अर्को बैठक भदौ १८ गते दिउँसो १ सम्मका लागि स्थगित गरेको सूचना सुनाए। लगत्तै बैठक सकियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।