काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको दाबी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्। नेकपा एकीकृत समाजवादीका ‘सम्मानित’ नेतासमेत रहेका खनालले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे।
उनले भने, ‘एकजना जनरलले मलाई के सूचना दिनुभएको छ भने, मैले नाम खुलाउँदिन भनेको छु, उहाँ अहिले भएको होइन, उहाँले के भन्नुभएको छ भने अर्को एसपीपी सम्झौताको सारा तयारी हुँदैछ, त्यसको ड्राफ्ट मैले गरेको हो, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ।’
उनले एमसीसी सम्झौता इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो भने दस्तावेजहरु किन लुकाएको भन्दै प्रश्न गरे। ‘एमसीसी सम्झौता इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको थियो भने दस्ताबेजहरु लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ? के कारणले लुकाइयो? दालमा कालो छ भन्नेकुरा त्यहीँबाट थाहा हुन्छ।’
कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर आफू भीम रावलले माग गरेको र अध्ययन गर्दा दिएको प्रतिवेदनमा एमसीसीभित्र के के समस्या छन् भन्ने कुरा स्पष्ट रुपमा राखेको उनले बताए। पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता बचाउने कुरा केटाकेटीले गुच्चा खेलेको जस्तो नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।