काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकपछि नयाँ–नयाँ भ्रष्टाचारका काण्डहरु बाहिर आउँदा पनि छानबिन गर्नुको सट्टा बार्गेनिक गर्ने टुल्स बनाएरहेको आशंका बढेको दाबी गरेका छन्।
ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, टीकापुर जग्गा प्रकरणलगायत सामसुम पार्न नेताहरूले अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल्स’ बनाउने सम्भावना बढ्दै गएको थापाको भनाइ छ।
भ्रष्टाचार प्रकरणले विगतमा अख्तियार दुरूपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको ‘नेक्सस’ बनिरहेको रहेछ भन्ने छर्लङ्गै भएको पनि थापाको दाबी छ।
‘यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटना छानबिन गर्न, गराउन हामी किन नमिल्ने?,’ थापाले ट्विटरमा लेखेका छन्, ‘विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आउनुपर्छ। यस्तै धारणा भएको अन्य पार्टीका साथीहरूसँग समान धारणा बनाऊँ अनि पार्टी बाहिर नागरिक आन्दोलनसँग एकाकार होऔं।’
थापाले संसद्मा विचाराधीन विधेयकहरु छिटो अघि बढाउन आग्रहसमेत गरेका छन्। संसदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुई वटा ऐन संशोधन विधेयक विचाराधीन रहेकोमा तिनलाई अघि बढाउनेपर्ने उनको भनाइ छ।
उनले भनेका छन्, ‘हामीले छुट्टै दर्जनौं संशोधन हालेका छौं। यसमा राम्रोसँग काम गरौं। यस्ता आयोगमा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔं। नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔं। के नीतिगत हो के होइन प्रष्ट गरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।