काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोशिस गरिरहेको बताएका छन्।
‘देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक-धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, त्यो हामी कदापी स्वीकार्न सक्दैनौं’, कोइरालाले भने।
धार्मिक मुद्दा पेचिलो बन्दै गएको बेला धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको भन्दै धर्मका नाममा राजनीति गर्न नहुने बताए। उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानबासीलाई आग्रहसमेत गरे।
धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रष्ट पारे। नेपाली कांग्रेस सुनसरी क्षेत्र नं-१ ले सञ्चालन गरेको ‘ग्रिन एण्ड क्लिन धरान अभियान -२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिक हिंसा फैलिए त्यसको ज्वाला देशैभरी जाने खतरा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।