काठमाडौं– नेपालले एएफसी एसिया कप २०१९ छनोट अन्तर्गत अहिले पौने ७ बजे नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा हुनेछ।
खेलका लागि दुवै टिमले प्लेइङ–११ सार्वजनिक गरेका छन्। नेपाली टिमको कप्तानी फरवार्ड भरत खवासले पाएका छन्। नियमित कप्तान विराज पहिलो रोजाइमा पर्न असफल भएपछि भरतलाई कप्तानी दिइएको हो। गोलकिपरमा किरणकुमार लिम्बु छन्।
डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ र देवेन्द्र तामाङलाई जिम्मेवारी दिइएको छ। रोहित चन्द, अञ्जन विष्ट, विशाल राई, र सुजल श्रेष्ठलाई मिडफिल्डमा छन्।
फरवार्डमा विमल घर्तीमगर, जर्जप्रिन्स कार्की र भरत खवासलाई प्रशिक्षक ग्योतोकु कोजीले खेलाउने निर्णय गरेका छन्।
नेपाल समूह 'एफ' को अंक तालिकाको पुछारमा छ। खेलेका ३ मध्ये नेपाल २ खेलमा पराजित भएको छ भने १ खेलमा बराबरी खेलेको छ। समूहमा १ अंक मात्र भएकाले नेपालका लागि आज हुने ताजकिस्तान विरुद्धको खेल महत्वपूर्ण मात्र होइन, निर्णायक पनि छ।
शीर्ष स्थानको फिलिपिन्सले ७, दोस्रो स्थानको यमनले ५ तथा तेस्रो स्थानको ताजकिस्तानले ३ अंक जोडेका छन्। समूहका शीर्ष २ टिम २ वर्षपछि यूएईमा हुने एसिया कपमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।