काठमाडौं– संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख ४ राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो।
यसका लागि भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले यसका लागि बिहीबार नै सूचना प्रकाशित हुने बताए।
बर्तौलाले भने, ‘संसदीय समितिका सभापतिहरुको अविलम्ब निर्वाचन गर्नुपर्ने, टुंग्याउनुपर्ने विषयमा भयो। ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरुको निर्वाचन हुनेछ। १० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ। यसरी अब प्रतिनिधि सभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ।’
बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।