काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको सुशासन अभियानबारे प्रश्न गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले कुनै पनि प्रकरणमा सत्ताको ढोकासम्म आरोप नआउँदासम्मको लागि मात्रै सुशासन हो? भन्दै प्रश्न गरेका हुन्।
सरकारले सुशासनको अभियानको कुरा गरिरहँदा सत्तारुढ दलका नेताहरु मुछिनेबित्तिकै सुस्ताउने कस्तो खालको सुशासन हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।
‘सरकारले सुशासनको कुरा गर्यो। हामीले शंकाको सुविधा दियौं। तर कहाँसम्मको सुशासन हो। आफ्नो ढोकासम्म त्यो आरोप नआउँदासम्मको मात्र सुशासन हो कि साँच्चैको सुशासन हो? यो गम्भीर प्रश्न बनेको छ,’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा जति पनि काम गरिरहेका प्रहरी कर्मचारी थिए। उनीहरुको सरुवा भयो। यो प्रमाण सरकारको सुशासनमाथि शंका गर्न पर्याप्त छैन र?
उनले ललित निवास प्रकरणमा कर्मचारी र जग्गा किन्ने मानिसहरु जहाजको सिटबाट समातेर थुनिँदा निर्णयकर्ताहरुलाई चोख्याइनुले सरकारको सुशासनबारे छर्लंग पारेको टिप्पणी गरे। उनले भने, ‘ ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएका, मालपोतमा कागज हेरेका, पैसा दिएर किनेका मानिसहरु र कर्मचारी जहाजको सिटबाट समातिए र थुनिए। तर निर्णयकर्ताहरुलाई सुनपानी छर्केर चोख्याइयो। के सरकारको सुशासन यही हो?’
उनले छानबिन समितको कार्यकुशलता र प्रभावकारिताप्रति पनि शंका गरेका छन्। अहिलेसम्म बनेका छानबिन समिति र तिनका छानबिनका प्रतिवेदनको प्रभावकारिता सबैले देखेको भन्दै प्रश्न गरेका हुन्। सभापति लामिछानेले जनताको बलिदानी र परिवर्तनको बलमा आएका नव युवराज र उनीहरुका छोराछोरीका हर्कत र क्रियाकलापले पनि सरकारको सुशासनबारे स्पष्ट पार्ने बताए।
उनले भने, ‘बाबुआमाले गोलीसँग नडराएर, ज्यानको बाजी लगाएर लडेको युद्ध, आन्दोलन, परिवर्तनका लागि गरेको त्याग तपस्याको बलमा आएका नव युवराजहरुको, उहाँका छोराछोरीहरुको कुन हर्कत र कुन तहको क्रियाकलापहरु आएका छन्। हामीले देख्दै आएका छौं। यो परिवर्तनमा बुवा पुस्ताको त्याग र बलिदानको जगमा छोरा पुस्ताहरुको नांगो नाच छर्लंगै छ। किनकी यो अनुसन्धान नव युवराजहरुतिर आयो भने बालुवाटार प्रकरण, भुटानी प्रकरण र सुन प्रकरणजस्तो अड्किने त होइन? यो शंका मैले राखे।’
उनले छिमेकी दुई देश आर्थिक रुपमा विश्वको शीर्षस्थानमा गइरहँदाखेरि हाम्रो देशमा पुलिस सारेर, पुलिस सरुवा बढुवामा आँखा लगाएर बस्नु लज्जाको विषय भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।