काठमाडौं- नेकपा एमालेका सांसद योगेश भट्टराईले गएको एक महिनामा सत्तापक्षकै कारण संसद् अवरुद्ध भएको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा उनले साउन १० गतेयता १० वटा बैठक अवरुद्ध भएकोमा तीमध्ये ८ वटाको कारण सत्ता पक्ष नै भएको उनले बताए।
उनले १० मध्ये ५ बैठक सत्ता पक्षकै अनुरोधमा सभामुखले सूचना टाँस गरी स्थगित भएकोमा बाँकी ३ बैठक सत्ता पक्षका सांसदले हो-हल्ला गरेर अवरुद्ध भएको उनको भनाइ थियो। बाँकी ३ वटा बैठकमा भने भने सबै दलका प्रतिनिधिले बोल्न पाएको उनले बताए। सत्ता पक्षलाई नचाहिए पनि संसद् नेकपा एमालेलाई भने चाहिने उनको भनाइ थियो।
संसद्मा सांसद भट्टराईको सम्बोधन उनकै शब्दमा-
१० वटा बैठक साउन १० यता। ५ वटा बैठक सत्ता पक्षकै अनुरोधमा सभामुख महोदयले सूचना टाँस गरी स्थगित गरेको। ३ वटा बैठक प्रतिपक्षको हिसाबले यी विषयलाई प्रतिपक्षको हैसियतले संसद्मा हामीले गम्भीरताका साथ उठाउँदा सत्ता पक्षकै माननीय साथीहरूले हो-हल्ला गर्नुभयो बोल्न दिनुभएन। त्यसकारणले बैठक स्थगित भएको थियो।
३ वटा बैठकमा सबै दलका प्रतिनिधिले बोल्ने अवसर पाएका थियौँ। त्यसबेला उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठले जवाफ पनि दिनुभएको थियो। यसरी बैठकहरू भएको कुरा म स्मरण गर्न चाहन्छु। मैले यो कुरा किन यहाँ.. सभामुख महोदय बाहिर विभिन्न ढंगले नेकपा एमालेले संसद् अवरुद्ध गरेको हल्ला फैलाइयो।
यो संसद् सत्ता पक्षलाई चाहिन्छ चाहिँदैन मलाई थाहा छैन। तर यो संसद् नेकपा एमालेलाई चाहिन्छ भन्ने कुरा म राख्न चाहन्छु। म यो कुरा दृढताका साथ राख्न चाहन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।