काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यही वर्षभित्रै पक्राउ पर्ने दाबी गरेका छन्।
मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसदसमेत रहेका चौधरीले यस्तो दाबी गरेका हुन्। उनले सबै काण्डहरुमा केपी ओली दोषी रहेकाले यही वर्षभित्रै पक्राउ पर्ने दाबी गरेका हुन्।
उनले भने, ‘जति काण्ड छन् ती सबैमा एक नम्बर केपी ओली नै दोषी हुन्। चाँडै समातिँदैछन्। त्यहि भएर यत्रा बखेडा झिकेर संसद् अवरोधलगायतका काम भइराखेका छन्।’ उनले सुन तस्करी प्रकरणमा पनि मुख्य दोषी केपी ओली नै भएको दाबी गरेका छन्।
राष्ट्रपति कार्यालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा पनि आफूले केपी ओलीलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेको बताए। उनले भने, ‘राष्ट्रपति कार्यालयमा भएको भेटमा गृहमन्त्रीलाई सोधेका छौं। सारा दुनियाँभर सुन काण्डमा केपी ओलीको नाम आइसक्या छ। जति काण्ड छन् केपी ओली एक नम्बरमा आइसकेपछि किन समात्नुभएन भनेर प्रश्न गर्यौं।’
सरकारसँग केपी ओलीलाई पक्राउ गर्ने ताकत छ? यस्तो दाबी गरिरहँदा तपाईंमाथि जनता हाँस्दैनन्? भन्ने पत्रकारको प्रश्नमा चौधरीले भने, ‘यही वर्षभित्रै, यही उमेरमा केपी ओली समातिन्छन्। भोलि तपाईंले नै समाचार लेख्नुहुन्छ, केपी ओली समातियो भनेर। मैले जे बोल्छु त्यो हुन्छ। राजनीतिक कोर्ष पनि त्यसरी नै अघि बढ्छ। उनको पालो आइसक्या छ यति बुझ्नुस्।’
यस्तै उनले आफ्ना पार्टीका अध्यक्ष माधव नेपालमाथि ललिता निवास प्रकरणमा जोडिएको प्रति असन्तुष्टिसमेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।