काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र एकीकृत समाजवादीबीच मुख्य सात भिन्नता प्रस्तुत गरेका छन्। मंगलबारदेखि सुरु केन्द्रीय समितिको छैटौं बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले एमालेलाई दक्षिणपन्थी विसर्जनवादी गुट भन्दै मुख्य भिन्नताहरू प्रस्तुत गरेका हुन्।
उनले उल्लेख गरेका भिन्नताहरु यसप्रकार छन्-
१) हामी २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत् सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौँ भने एमाले यो मान्दैन।
२) हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्छौँ भने एमाले यो मान्दैन।
३) हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौँ भने एमाले यो मान्दैन।
४) हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौँ भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ।
५) हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौँ भने एमाले यो मान्दैन।
६) हामी समाजवादी कार्यदिशा अँगाल्ने भन्छौँ भने एमाले यो मान्दैन।
७) हामी प्रतिगामी पुनरूत्थानवादी तत्वहरूका विरूद्ध प्रहार केन्द्रित गर्ने भन्छौँ भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ।
उल्लेखित सवालहरूमा भिन्नता रहेकै हुनाले पनि एमालेबाट आफूहरूको विद्रोहको औचित्य पुष्टि भएको प्रतिवेदनमा दाबी गरिएको छ।
‘हामीले विद्रोह मुलुकलाई प्रतिगमनको भूमरीमा धकेल्ने दक्षिणपन्थी विसर्जनवादका विरुद्ध गरेका थियौँ। अर्को शब्दमा भन्नुपर्दा हामीले विद्रोह प्रतिगमनका विरुद्ध गरेका थियौँ। प्रतिगमनलाई परास्त गरी जनवादी क्रान्तिका उपलब्धिको रुपमा रहेका संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधि सभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने हाम्रो विद्रोहका मुख्य लक्ष्य थिए,’ प्रतिवेदनमा भनिएको छ, ‘ती लक्ष्य प्राप्त गर्न हामी सफल भएका छौँ। प्रतिगमनलाई परास्त गरिएको छ।’
उनले आफूहरुको विद्रोहकै कारण संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको, प्रतिनिधि सभा पुनःस्थापित भएर पूर्ण कार्यकाल क्रियाशील रहेको, संविधान क्रियाशील भएको, संघ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भएको र जनताले आफ्नो अधिकार प्रयोग गरी तिनै तहमा नयाँ नेतृत्व चयन गरिएको बताएका छन्। ‘हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएनन्। यस अर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ,’ प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।