काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै नभएको बताएका छन्। नेकपा एमाले मुख्यालयमा सोमबार छक्कबहादुर लामालाई केन्द्रीय सदस्यको शपथ खुवाएपछि सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘यो सुन तस्करी वर्तमान सरकारले नगराएको भए कस्ले गरायो?,’ ओलीले प्रश्न गरे, ‘साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि जाँच हुन्छ। तपाईँको बुलाकी, ढुङग्री, मुन्द्री जाँच गर्छ। के त्यसमा किलोकिलो सुन हालेको हुन्छ? अनि एउटा आइटममा क्विन्टल सुन आउँदा सजिलै पास हुन्छ, के–हो त्यो?’
अहिलेको सरकारकै पालामा तीनहजार किलोभन्दा बढी सुन तस्करी भएको भन्दै सरकारको संलग्नताबिना कसरी सम्भव हुन्छ? भन्ने प्रश्न ओलीको थियो। ‘त्यसका पछि को–छ? यहाँ सत्ता संरक्षित अन्तर्राष्ट्रिय गिरोह छ,’ ओलीले भने, ‘त्यहि भएर हामीले निष्पक्ष छानबिन गर्न आयोग बनाऔं भनेको हो। त्यहि कुरा पर्दाफास होला भनेर सरकार मानेको छैन।’
ओलीले एमालेलाई डेमोक्रेसीको मतलब छैन भनेर हल्ला गरेको आरोप लगाए। ‘के सुन खानेहरुलाई डेमोक्रेसीको मतलब छ? तस्करहरुलाई डेमोक्रेसीको मतलब छ? हामीलाई छैन? यस्तो पनि हुन्छ,’ उनले भने, ‘तर, उनीहरु त्यस्तै कुरा गरिहेका छन्। हामी देशलाई समृद्धिको दिशा अघि बढाउन खोजिरहेका छौं।’
ओलीले अहिलेको सरकारलाई अनौठो सरकारको संज्ञा दिए। ‘एउटा बाटोबाट एउटा आइटम देखाएर ल्याएको मात्रै एक क्विन्टल सुन हुने रहेछ। विमानस्थल त ल्याउनै नसकिने ठाउँ हो नि? ब्रेक सु भनेर पनि ल्याएकै छ। सिक्रेट भनेको छ त्यसमा पनि ल्याएको छ,’ उनले थपे, ‘जेमा पनि सुन ल्याएको छ। अनि अब सबैका फायल खोलिन्छ भनेर त्यही सरकार हल्ला चलाउँछ।’
उनले माओवादीलाई एउटा डफ्फाको संज्ञा दिँदै त्यसले नै यस्ता खालका क्रियाकलाप गर्ने आरोप लगाए। उनले भने, ‘माओवादीको एउटा डफ्फा छ। त्यो डफ्फाको काम नै यस्तै खालका क्रियाकलाप गर्ने हो, बदमासी काम गर्ने अनि हल्ला अर्कोतिर चलाइदिने। नेपालीहरु भनेका सोझो जातका छन्। हल्लाका पछि कुद्छन्। उनीहरुका मान्छेले प्रायोजित हल्ला चलाउँछन्।’
अहिले नेकपा एमालेले संसद् चल्न दिएन भनेर हल्ला चलाउने कामसमेत माओवादीले गरेको भन्दै ओलीले आरोप लगाए। सुन तस्करी रोक्नुपर्यो, निष्पक्ष छानबिन हुनुपर्यो भन्दा एमालेलाई सदन चल्न दिएन भनेर हल्ला फिजाइएको उनको आरोप छ।
उनले भने, ‘हामीले त यो तस्करी रोक्नुर्यो भनेको हो। विमानस्थलबाट त सियो पनि छिर्न सक्दैन। त्यस्तो ठाउँबाट क्विन्टलका क्विन्टल सुन कसरी छिरेर आउँछ? १ सय केजी सुन समातियो भनेको तपाईं हामी सबैले सन्यौं नि, अहिले त ६० केजीमा झरिसक्यो। २ सय डिग्री सेल्सियसमा पग्लिने सुन के त्यसै पग्लिएर सकियो त? देश लुट्ने काम भैरहेको छ।’
ओलीले तस्करीमा कुरा नमिलेपछि बेलाबखत वर्तमान सरकारले सुन समात्ने गरेको बताए। ‘कहिले–कहिले केही नमिल्दा टक्रक्क समातिएको सुनको परिणाम त त्यत्रो छ भने कति सुन तस्करी भैरहेको होला?,’ उनले भने, ‘हामीले यस्तो अवस्थामा तस्करी रोकौं, भ्रष्टाचार रोकौं, छानबिन समिति बनाऔं भन्दा सरकार छानबिन समिति बनाउन तयार छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।