काठमाडौं- कोशी प्रदेश सभाबाट मुख्यमन्त्री उद्धव थापालाई विवादास्पद विश्वासको मत प्राप्त भएको छ।
ज्येष्ठ सदस्यका रुपमा सभा चलाएका कांग्रेस सांसद इस्राइल मन्सुरीले समेत भोट दिएर बहुमत पुर्याइएको हो। उनले आफू भोट हाल्न जाँदा सभामुखको आसनमा सत्तापक्षकै अर्की सांसद गीता तिमिल्सिनालाई राखेका थिए।
सोमबार भएको मतदानमा थापाले ४७ मत पाएका छन्। प्रस्तावको विपक्षमा ३० मत खसेको छ। बहालवाला सभामुखलाई राजीनामा गराएर बहुमतका लागि आवश्यक ४७ सांसदको हस्ताक्षर बुझाएर साउन २१ गते मुख्यमन्त्री नियुक्त भएका थापाले सोमबार विश्वासको मत लिएका हुन्।
संसदीय अंकगणितका उल्झनबाट उम्किन थापाले अनेक चलाखी गरेका थिए। सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री पद लिएका थापाले उपसभामुखले संसद् नचलाउने संकेत बुझेर त्यसपछिका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएका थापा आफ्नो रणनीतिमा चुकेका छन्।
उपसभामुख सिर्जना दनुवार बिरामी भएर बिदा बसिदिनु र त्यसपछिका ज्येष्ठ सदस्यहरुले छुट्टी बसिदिएपछि अन्नत: कांग्रेसकै इस्राइल मन्सुरीले सभाको अध्यक्षता गरेका थिए। थापाले उनै मन्सुरीको निर्णायक मत लिएर मुख्यमन्त्रीका लागि विश्वासको मत पाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।