काठमाडौं- नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरितर्फ लक्षित गर्दै कानुनमन्त्री तथा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले सुराकीको देवत्वकरण गर्नु गलत रहेको बताएका छन्। गिरिको पहिलो वार्षिक पुण्यतिथि मनाइरहेको सन्दर्भमा उनले यस्तो ट्विट गरेका हुन्।
उनले पहिलो ट्विटमा ‘सुराकी को?’ भन्दै २०३१ सालको घटनालाई उल्लेख गरेका छन्। जहाँ उनी लेख्छन्, ‘शसस्त्र क्रान्तिका लागि खगेन्द्र दाहाल र गोकर्ण कार्की वनारसबाट आउँदा सिरानीभित्र लुकाएर ल्याएको ग्रिनेटसहित सुराकीका कारण थानकोटमा पक्राउ परेपछि २०३१ साल असोज १३ गते खगेन्द्र र गोकर्णलाई जेल चलानको नाममा मध्यरातमा नख्खु ओरालोमा लगेर गोली हानेर मारियो। सुराकी को?’
उनको उक्त पोष्टमा कांग्रेसका अर्का नेता लोकेश ढकालले प्रतिउत्तर लेखेका छन्। उनले थप्दै भनेका छन्, ‘पार्टी पंक्तिमा त त्यसबेला बनारसतिरै बस्ने, यो योजना बनाउँदा बैठकमै भएका कांग्रेसीले सुराकी गऱ्या भन्ने सुन्दै आएको हो। यहाँ भन्न भएन। यो कुरा त धनराजजीलाई पनि पक्कै थाह होला नै!’
ढकालको ट्विटमा प्रतिउत्तर दिँदै उपसभापतिसमेत रहेका मन्त्री गुरुङले सुराकीको देवत्वकरण गर्नु गलत रहेको उल्लेख गरेका हुन्। जहाँ उनी लेख्छन्, ‘लोकेश जी। तपाईं हामी जस्ता कांग्रेसको इतिहास अध्ययन गर्नेहरु सबैलाई थाहा छ। तपाईं जस्तो अध्ययनशील व्यक्तिलाई थाहा नहुने कुरै भएन। यहाँले भन्नु भएजस्तो यहाँ भन्न मिलेन। तथापि सुराकीहरुलाई देवत्वकरण गर्नु एकदमै गलत कुरा हो। तपाईं यो भनाइसँग सहमत हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’
उक्त घटनामा गिरिले सुराकी गरेको केही कांग्रेसीले ठान्नुको कारण खुलाउँदै प्रकाश श्रेष्ठ नामका प्रयोगकर्ताले स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘आज प्रदीप गिरिको प्रथम पुण्य तिथि! ओखलढुंगा काण्डमा मारिएका कांग्रेसीहरु काका भएका नाताले प्रदीप गिरिले तुलसी गिरिलाई सुराकी गरेको अपुस्ट पूर्वाग्रही धारणा कांग्रेसीबाट सुनिने गर्थ्यो! यो प्रसङ्ग आजैको दिन उल्लेख गर्नुको आसय त्यस्तै त हैन? एकदिन मर्नुपर्छ यस्तो कुरा नगरौं।’
गुरुङकै पोष्टमा केहीले उल्लेखित नाम र मारिएको स्थान गलत लेखिएको बताएका छन्। सागर मरासिनी नामका एकजनाले भनेका छन्, ‘सुराकी गर्या कस्ले भन्ने त थाहा भएन। तर उल्लेखित नाम र मारिएको स्थान गलत भयो क्यारे।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।