काठमाडौं- सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायका छोरी तथा बुहारीलाई नि:शुल्क स्नातक र स्नातकोत्तर पढाउने भएको छ। आरक्षण होइन, अवसर दिऔं भन्ने उद्देश्यका साथ तीनपाटन गाउँपालिकाभरिका दलित छोरी-बुहारीलाई स्नातक र स्नातकोत्तर नि:शुल्क पढाउन लागिएको गाउँपालिका कार्यालयले जनाएको छ।
तीनपाटन गाउँपालिका क्षेत्रका ३ वटा सरकारी तथा सामुदायिक क्याम्पसमा उनीहरुलाई नि:शुल्क अध्यापन गराइने बताइएको छ। गाउँपालिकाभरि दलित समुदायका जति पनि छोरी र बुहारी स्नातक र स्नातकोत्तर पढ्छन् उनीहरुको भर्ना शुल्कदेखि मासिक शुल्कसम्म गाउँपालिको बेहोर्ने विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
साउन ३१ गते बाह्रौं गाउँसभा अधिवेशनबाट पारित भएको यो निर्णय कार्यान्वयनका लागि भन्दै गाउँपालिकाले सूचना समेत निकालेको छ। यो सुविधा लिनका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भन्दै गाउँपालिकाले आइतबार सूचना निकालेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेद्वारा जारी सूचनामा बुहारी भए सासु वा छोरी भए आमाले आफ्नी बुहारी र छोरीलाई स्नातक-स्नातकोत्तर तहको कुनै पनि वर्ष वा सेमेस्टरमा भर्ना गर्नका लागि आफू स्वयं क्याम्पसमा लैजानुपर्ने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।