काठमाडौं– सभामुख देवराज घिमिरेले संसद् सञ्चालनका लागि बोलाएको प्रमुख दलका नेता तथा सचेतकहरुको बैठक बिना सहमति सकिएको छ।
सिंहदबारमा सभामुखले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष र सत्ता पक्ष आ–आफ्नै अडानमा रहेपछि कुनै सहमति नभएको हो। नेपाली काग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताहरु र सभामुखकाबीचमा भएको छलफल कुनै निष्कर्षमा नपुगेको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ।
संसद् सचिवालयका अनुसार सभामुखले आफूले संसद सुचारु गर्न पहल गरिरहेको तर सबै दल आ–आफ्नै अडानमा रहँदा जनताको मुद्दा उठ्न नपाएको भन्दै अवरोध खुलाउन सहमत हुन आग्रह गरेका थिए। तर, प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने सुन तस्करी प्रकरणमा छानबिन समिति नबनेससम्म संसद्को अवरोध नखुल्ने बताएको छ।
सरकारले छानबिन समिति बनाउन किन खोजिरहेको छैन भन्ने कुराले धेरै आशंका जन्माएको एमालेको तर्क थियो। बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेकाले समिति आवश्यक नपर्ने बताएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने सत्ता पक्ष र एमालेको आ–आफ्नै तर्कका कारण संसद् बन्धक भएको भन्दै यसलाई धेरै समय कायम राख्न नहुने माग गरेको थियो। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद् सबैको थलो भएकाले जनताको मुद्दा राख्न सबैले पाउनुपर्ने माग गरे। सचेतकहरुको बैठकमा सहमति नभएपछि प्रतिनिधि सभा बैठक ५ गतेसम्मका लागि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।