काठमाडौं- भारतले प्याज निर्यात गर्दा ४० प्रतिशत कर लगाउने निर्णय गरेको छ। प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि निर्यात कर लगाउने भएको हो। भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो।
कर लगाएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ। विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ। निर्यात करले भारतीय प्याजमा निर्भर नेपाल सहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ।
अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ। नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ। भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ।
नेपाल आलु प्याज व्यवसायी संघले भारतको निर्णयले नेपालको बजार पनि प्रभावित हुने बताएको छ। अहिले भारतबाट नेपालमा खरिद गरेर ल्याउँदा प्याज प्रतिकिलो ५० रुपैयाँ पुग्ने गरेको संघका महासचिव प्रकाश गजुरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।