काठमाडौं- संसद्को जारी अवरोध खुलाउनेबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार साढे १२ बजे प्रधानमन्त्री कार्यालयमा छलफलका लागि शीर्ष नेताहरुलाई बोलाइएको छ।
प्रधानमन्त्रीले सदन लामो समयदेखि नचल्दा महत्वपूर्ण कानुन निर्माणका साथै जनताको आवाज रोकिएकाले छलफलको लागि शीर्ष नेताहरुलाई बोलाएको आचार्यले बताए।
प्रतिनिधि सभाको बैठक आइतबार १ बजेका लागि तोकिएको छ। उक्त बैठकअघि शीर्ष नेताहरुका बीचमा छलफल हुन लागेको हो।
सभामुख देवराज घिमिरेले पनि सदन खुलाउनका लागि प्रमुख सचेतकहरुको बैठक बोलाएका छन्। संसद्मा अवरोध जारी रहँदा प्रधानमन्त्रीका तर्फबाट ठोस पहल नभएको भनी आलोचना बढिरहेकाले प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
साउनको दोस्रो सातादेखि नेकपा एमालेले संघीय संसद्का दुवै सभा अवरुद्ध गर्दै आएको छ। सुन प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको माग छ। तर सरकार भने यस्तो आयोग बनाउन नसकिने भन्दै आएको छ।
६० किलो सुन प्रकरणमा सरकार र प्रतिपक्षका बीचमा विवाद नमिल्दा सदन अवरुद्ध भइरहेको छ। यो प्रकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।