धुलिखेल- संविधानसभा अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध नियमसंगत नभएको बताएका छन्। आफ्नो विगतदेखिकै मान्यता यही रहेको उल्लेख गर्दै दलहरूले गर्ने अवरोधको जवाफदेही उनीहरू नै हुने बताए।
संसद् सचिवालयको आयोजनामा धुलिखेलमा आयोजित संसद्-सञ्चार सम्बन्ध कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘संसद् अवरोध नियमसंगत होइन, संविधानले संसद् अवरोधका लागि अनुमति दिएको छैन। नियमले पनि कल्पना गर्दैन।’
एमाले संसदीय दलका उपनेता समेत रहेका उनले आफ्ना कुरा सरकारले नसुन्दा दलहरूले संसद् अवरोध गर्ने गरेको बताए। साथै त्यसको जवाफदेही उनीहरू नै हुने बताए। उनले सरकारले पनि प्रतिपक्षले प्रभावकारी रूपमा कुरा राख्दा सुन्नुपर्ने बताए।
संसद् अवरोध एमालेले मात्रै नगरेको संकेत गर्दै विगतमा सोफा तोडफोड र खुर्सानीको धुलो फ्याक्नेसम्म क्रियाकलाप भएकाे उनले बताए।
सोही कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि संसद् अवरोधको आफू विपक्षमा रहेको बताए। उनले भने, ‘मलाई अवरोध मन परेको छैन। संसद् खुला हुनुपर्छ र संवाद नै समस्या समाधानको विकल्प हो। त्यसैमा जोड दिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।