काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्नसक्ने बताएका छन्। शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले सदन अवराेध हट्नेमा आफू आशावादी रहेको बताएका हुन्।
उनले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै शनिबार पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए। उनले शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको बताए।
‘हामीले निरन्तर पहल गर्दै आएको तपाईहरुलाई थाहा छँदैछ। हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटारमा कुरा भएको छ,’ उनले भने, ‘आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ। आशा छ भोलि सदन खुल्छ।’
उनले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।