धुलिखेल- सभामुख देवराज घिमिरेले तत्काल संसदको अवरोध नहट्ने संकेत गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचसँग छलफल गरेका उनले दुवै पक्ष अडानमा रहेको बताए।
संसदको अवरोध नखुल्दा संसद् र यो व्यवस्थामाथि नै वितृष्णा सिर्जना हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको उनले बताए।
उनले व्यंग्यात्मक रूपमा भने, ‘सानोमा हामी केही कुरा गर्दा एउटाले बाउले सक्छ भन्थ्यो, अर्कोले बाउले त के राजाले पनि सक्दैन भन्थ्यो। त्यो बेलाको चेतनाले । त्यस्तै भएको छ।’ सभामुख घिमिरेले आफ्नो प्रयासबाट मात्रै सम्भव नहुने जताउन यस्तो उक्तिको सहारा लिएका हुन्।
उनले प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको मागलाई निरन्तरता दिइरहेको र सरकार पनि आफ्नै संयन्त्रले छानबिन गर्ने अडानमा रहेको उल्लेख गरे।
उनले भने, ‘मैले आज पनि प्रधानमन्त्रीज्यूलाई भेटेर कुरा राखेको छु। प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र सत्तपक्षकै अर्को दल कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुरा राखिरहेको छु।’
पछिल्लो ८ वटा बैठकमा संसद् खोल्ने प्रयास भए पनि सफल हुन नसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।